Bulbul - A Singing Bird

बुलबुल - एउटा ईरानि चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक कार्यक्रम !!!
"स्त्रीहरूसितको बार्तालाबलाई नै गजल भनिन्छ" यदी यो परीभाषालाई मान्ने हो भने हाम्रो बार्तालाब सभ्य हुनुपर्दछ, सिल हुनुपर्दछ, माधुर्य र बिराम हुनु जरुरी छ । कुरामा भाबनात्मक्ता, मादक्ता प्रतिबिम्बित हुनुपर्दछ अनी पो बार्तालाबको मिठास रहन्छ, गजल को मिठास रहन्छ ।
गजलको दोश्रो अर्थ हरिणको त्यो करुनमय स्वर हो । जब उ शिकारी कुकुरहरूको पन्जामा फसेको हुन्छ त्यो अवस्थामा हरिणको घाँटिबाट यति हृदयबिदारक स्वर निस्कन्छ कि शिकारी कुकुरहरूपनी केही पर हट्न थाल्दछन् । हरिणको त्यो स्वर नैरास्यताको प्रतिकृया हो । असहायताको चारमोत्कर्समा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दाबलिमा यसैलाई "गजालुल कल्व" अर्थात हरिणको दर्दनाक स्वर भनिन्छ ।

Garden Bulbul
Bulbul - Yeuta Irani Chara

बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाच्न वा ऊसंग ठट्टागर्न बेला बेला उर्को प्रेमलाई अनेक प्रकारले जाच्ने गर्थिन । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताब राखेपनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार भएर बस्थ्यो ।
एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लग्यो । ऊनले सिपाहीलाई बोलाएर भनिन तिमि मलाई साच्चै प्रेम गर्छु भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देउ नत्र म तिमीसंग प्रेम गर्दिन अर्कै राजकुमार संग बिहा गरेर गईदिन्छु । सिपाहीले हुन्छ सिबाए केहि भन्न नसकेर फर्कियो । राजकुमारीको बगैचामा सबै सेता गुलाबका मात्र बोट थिए । त्यो देसैभरी रातो गुलाबको बिरुवा थिएन । निराश सिपाही बगैचामै बसी बिरह गर्न थाल्यो ।
साझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहिँ बास बस्न आए । निराश सिपाहीको बिरह देखिर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरि बिलाप गरिरहेका छौ सिपाही ? सिपाहीले आफ्नो समस्या बतायो । त्यसपछी बुलबुल जोडीले उसलाई बचन दिए असल प्रेम मर्नु हुन्न भोलि बिहान यहि बगैचामा राजकुमारीलाई लिएर आउनु रातो गुलाबको व्यवस्था हामि गरिदिने छौ ।
सिपाही आस्वस्त भएर घर फर्कियो । त्यस रात रातभरी राजकुमारीको बगैचामा प्रेम बिरहका गीत गजलहरू सुनिए । राजकुमारीको मन अत्यन्तै कोलाकित भयो । बिहान सबेरै सिपाही आयो राजकुमारीले सोधिन रातो गुलाब खोइ त ? सिपाहीले राजकुमारीलाई बगैचामा लिएर गयो । बगैचामा सबै गुलाबहरू राता भएका थिए । सिपाही र राजकुमारी अगाडी बढ्दै गए । बुलबुल चरिका जोडीहरू अझै गाउदै थिए बिरह गाना।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाबको बोटको काँडामा घोच्दै रगतले सेता गुलाबहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाबहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाबका बोटबाट भूइँमा झरेर अमर भए ।

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो ।

नेपाली साहित्य मा गजल नौलो बिधा होइन तर पनि नेपाली साहित्यमा यस्को मौलिक शैलीको बिकास भने हुन सकेको छैन यो अर्थमा कि नेपालमा लेखिने धेरै जसो गजलहरू हिन्दी या उर्दु शैली मा नै लेखिने गरिन्छ । यस्को जन्म फारसी भाषामा भएतापनी बिभिन्न समयमा बिभिन्न शैलिहरूको बिकास भएको पाईन्छ । सुरुवातकाल मा स्त्रिहरुको बर्णनमा लेखिने गजलहरू अहिलेको समय सम्म आईपुग्दा धेरै क्षेत्रलाई समेटेर लेख्न थालिएको पाईन्छ ।

वर्तमान समयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्ष सयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भइरहेका छन् भने पुराना र अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरुसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रुपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई 'आयातीत विधा या कविता वा गीतको एउटा रुप' भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यसर्थ यसलाई गेय विधाको रुपमा पनि चिनिन्छ ।

लय गजलका लागि अत्यावश्यक तत्व मानिन्छ । गजल गेय विधा भएकोले यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । बहर छन्द लय मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरु हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आवद्ध हुनैपर्दछ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवासय वर्ष वितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरुले । साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ ।

सन्दर्भ सामाग्री : [अच्युत घिमिरे, रेडियो कार्यक्रम बुलबुल], [घनेन्द्र ओझा, बहर तथा लयमा गजललेखन]