गजल एक संक्षिप्त परिचय !!!

पृष्ठभूमि र परम्परा

उर्दु भाषामा अत्यन्त विकसित साहित्यको श्रव्य बिधा गजलको जननी चाहि अरबी भाषा नै हो । उर्दु भाषामा अत्यन्त विकसित, लोकप्रिय र चर्चित भए पनि बिस्तारै-बिस्तारै यसको प्रभाव हिन्दी र नेपालीजस्ता भाषा साहित्यमा पनि भएको देखिन्छ । संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र लघुकथासंग धेरै नजिक देखिने भए पनि यसमा भावको त्रि्र विन्यास गरिएको हुन्छ । यो संगीत चेतनाका आधारमा गीत एवं बिम्ब-प्रतिक तथा उपमा, रुपक जस्ता अलंकारको प्रयोग र सौर्न्दर्य चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो । गजलले लगभग आठ-नौ सय वर्षो इतिहास बोकेको देखिन्छ । सुरुदेखि बर्तमानसम्म विद्यमान रहेका गजलभित्रका आफ्नै निजी तत्वहरुले यसलाई अरु बिधाबाट स्वतन्त्र अस्तित्व प्रदान गरेको छ । बर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ । हुनत गजलको मुल विषयबाद नै प्रेम भएको हुनाले र प्रमिका संगको बार्तालाब अथवा श्रृङ्गारिक अनुभुतिको भाषिक अभिव्यक्ति गजल हो भन्य मान्यता उत्पत्ति कालदेखि नै देखिदै आएको छ । त्यसैले यसले आजसम्म पनि श्रृङ्गारिक धरातललाई लिएरै हिडेको पनि देखिन्छ । तर, पूर्णरुपमा प्राचिन संरचनामा मात्रै गजल सिमित बनेको चाहि छैन । बर्तमानका गजलहरुमा प्रेमपूर्ण बिषय बस्तुले भन्दा ह्रासोन्मुख मानवीय मुल्य, सामाजिक असमानता, राजनैतिक विकृति, अत्याचार, कुरीति, शोषण, दमन, जीवनका निराशा, माटो अनि मुटुका सम्बन्ध तथा यथार्थ धरातलमा रहेर गजलहरुको सिर्जना हुन थालेको पाइन्छ ।

'गजल' अरबी भाषाको 'पोथी' वा स्त्रीलिङ्गी शब्द हो । अरबी भाषामा 'ग' भन्नाले 'वाणी', 'ज' भन्नाले 'स्त्री', 'अल' भन्नाले 'को' वा 'साथ' भन्ने हुन्छ । त्यसैले 'गजल' शब्दले दिने शाब्दिक अर्थ 'स्त्रीका साथ प्रयुक्त हुने वाणी' अर्थात् स्वास्नी मान्छेसँग गरिने वार्तालाप भन्ने बुझ्न सकिन्छ । गजलका सन्दर्भमा बिभिन्न विद्वानहरुले फरक फरक मत अघि सारेका छन् । कसैले यसको अर्थ प्रेयसीसंगको क्रीडा अनि कसैले नारीहरुको प्रेमको कुरा भनेर पनि अर्थ्याएका छन् । 'गिजाल'बाट गजल शब्द विउत्पन्न भएको हो भन्ने डा. कृष्णचन्द्र मिश्र जस्ता विद्वान पनि भेटिएका छन् । अरवी भाषामा पाइने 'गिजाल' शब्द 'गजाल'बाट बन्दछ । मिश्रले गजल शब्दको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात् 'शिकार खेल्दा जब शिकारीको वाँण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनादलाई गजल भनिन्छ ।' त्यसैले गजलको उत्पत्तिगत दृष्टिले गजलकारको कोमल हृदयमा कुनै गहिरो आघात पर्दा त्यसबाट प्रस्तुत हुने कारुणिक तथा पीडाजन्य आन्तरिक अनुभुतिजन्य र प्रेमिकासँगको पिडासहित व्यक्त गर्ने शब्दजाल नै गजल हो ।

फारसी भाषामा गजलको अर्थ 'वाजनान गुफ्तगु करद न' वा 'आइमाईका कुरा' हुन्छ । आइमाईका कुरा एक बिषयमा केन्द्रित नहुने भएकाले र गजलका पनि हरेक 'शेर'हरु कुनै निश्चित विषयमा आबद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् । तर्सथ अर्थका दृष्टिले गजल एकतामा अनेकता र संरचनात्मक दृष्टिले अनेकतामा एकता हुने सुललित भाषिक अभिव्यञ्जना हो ।

गजलको परिभाषा

गजलको परिभाषा दिने क्रममा विभिन्न ठाउँमा वेग्लै तरिकाले अर्थ्याउने भएकाले अन्य विधाहरु जस्तै यसमा पनि मतैक्यता भने पाइदैन । गजलका बारेमा प्रस्तुत भएका केहि विचार वा मतलाई प्रस्तुत गर्नु सान्दर्भिक र्ठहर्दछ ।

१) बृहत नेपाली शब्दकोशका अनुसारः- 'विशेषतः प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कवितालाई गजल भनिन्छ ।'

२) उर्दु-हिन्दी शब्दकोशका अनुसारः- '५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार गजल हो । यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दीवान भनिन्छ ।'

३) द अक्सफोर्ड इङ्लिस डिक्सनरीका अनुसारः- 'विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चीमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।'

माथि दिइएका परिभाषाका समग्रमा श्रृङ्गारिक विषयमा तीव्र भावको बिन्यास वा बिषयको केन्द्रयतामा संरचित सरल, संक्षिप्त, सुकोमल पंक्तिद्वारा निर्मित विलक्षण प्रभावकारी गेयात्मक एवं लयात्मक पद्य रचना नै गजल हो ।

नेपाली भाषामा गजल

नेपाली साहित्यमा गजल लेख्ने परम्पराको थालनी नेपाली कविता विधाको माध्यमिक काल (१९४१ -१९७४) देखि भएको हो । यस कालमा मोतिराम भट्ट (१९२३ -१९५३)का माध्यमबाट प्रवेश गरेको गजल बिधा मोती मण्डलीका लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, गोपिनाथ लोहनीका अतिरिक्त मियाँ अञ्जद हुसेन, गजब, रत्नलाल, शम्भुप्रसाद ढुङ्गेल, पारसमणि प्रधान, भीमनिधि तिवारी, उपेन्द्रबहादुर 'जिगर' तथा म.वि.वि. शाह जस्ता गजलकारहरुबाट गोडमेल हुँदै फस्टाउँदै आएको पाइन्छ । वि.सं. २००७ देखि २०३५ सालसम्म नेपालमा यस बिधाले निष्क्रियता प्राप्त गरे पनि वि.सं. २०३५ साल पछि यस बिधाले उल्लेख्य सफलता प्राप्त गर्दै आएको छ । नेपाली भाषा तथा साहित्यका इतिहासका पानामा मात्र सीमित बन्न पुगेको गजल परम्परालाई पुनर्जीवन दिने काम ज्ञानुवाकर पौडेलले गरेका छन् । यस पछिका मनु ब्राजाकी, ललिजन रावल, रबि प्राञ्जल, बुँद राणा आदिले गजल विधालाई उल्लेख्य उचाइमा पुर्याउन ठुलो योगदान दिएका छन् । पछिल्लो समयमा गजलको वर्षा बर्ष्याउन अझ बढी योगदान पर्याउन रडियोबाट प्रसारित अच्युत घिमिरेको बुलबुल कार्यक्रमले सहयोग पुगेको छ ।

गजलका संरचक घटकहरु

संरचनात्मक सुगठन गजलको महत्वपुर्ण पक्ष हो । बर्तमान समयमा यसलाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुइ हरफहरु मिलाउँदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजलको बदनाम हुन सक्छ । गजल एउटा यौगिक रचना हो, जुन विभिन्न संरचक घटकहरुको सन्तुलित तथा नियमित नियमबाट निर्माण हुन्छ । त्यसको वास्तविक चिनारी नै शास्त्रीय आधार हो । गजलको संरचना बुझ्नको लागि केहि संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ ।

१) काफियाः- काफियाको अर्थ अन्त्यनुप्रास वा तुक हो । खासगरी प्रत्येक शेरको अन्त्यमा रदीफ पुर्व आउने तुकबन्दीपुर्ण शब्द नै काफिया हो । गजलको प्रत्येक शेरको दोस्रो पङ्तिमा मतलाको दुबै पङ्तिमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । यसले गजलमा लयात्मकताको सिर्जना गर्नुका साथै गजललाई विशिष्ट संरचनातत्व प्रदान गर्दछ । जस्तैः-

               विश्वासको घात नगर ममाथि
               विषको यो प्याला नभर ममाथि
                                            - रमा शर्मा

२) रदीफः- रदीफ अरवी भाषाको शब्द हो । रदीफ गजलको अनिवार्य तत्व चाहिं होइन । काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । यसरी रदीफबाहेक गजल आयोजना गरिएमा उर्दुमा 'गैर मुरद्वफ' गजल भनिन्छ । यो लगातार दोहोरिएमा गजल लयात्मक, गेयात्मक तथा दीर्घ प्रभावकारी बन्दछ । जस्तैः-

               इ सानै उमेर्देखि मन हर्न लागे
               यिनै सुन्दरीले जुलुम् गर्न लागे

               कहाँ सम्म आँट लौ हेर तिन्को
               रिसाएर आँखा पनि तर्न लागे
                                            - मोतिराम भट्ट

३) मतलाः- गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ । मतलाका दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । यो भाग गजलको मुख्य भाग हो । यसमा गजलभरीको केन्द्रिय भाव समेटिएको हुन्छ । जस्तैः-

               यही हो कुरा त्यो बुझाउन गाह्रो
               मलाई छ प्यारो उनकै तगारो


४) मकताः- गजलको अन्तिम दुर्इ हरफहरुमध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएको छ भने ती दुर्इ हरफलाई मकता भनिन्छ । जस्तैः-

               अघि पर्न सक्दीन मैले हरिका
               नजर्देखि मोती पनी र्झन लागे ।
                                            - मोतिराम भट्ट

५) तखल्लुसः- गजलका अन्तिमका दुर्इ हरफहरुमध्ये कुनै एकमा प्रयोग गरिने लेखकको नाम वा उपनाम नै तखल्लुस हो । माथि (४) मा दिइएको उदाहरणमा 'मोती' शब्द नै तखल्लुस हो । तखल्लुस गजलमा दुर्इवटा अर्थ दिने खालको भएर प्रस्तुत हुनुपर्दछ । यदि जवर्जस्ती नाम राख्नकालाथि मात्र यसको प्रयोग गरिन्छ भने त्यसलाई तखल्लुस नै भनिदैन । त्यस्तो अवस्थामा तखल्लुसको प्रयोग गर्दा भन्दा नगर्दा नै राम्रो ठानिन्छ ।

६) मिसराः- मतला र मकता बीचका प्रत्येक दुर्इ हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई मिसरा ए उला भनिन्छ भने दोस्रो हरफलाई मिसरा ए सानी भनिन्छ । मिसराहरु अलग अलग भावका भए पनि फरक पर्दैन भनिए पनि आज आएर भावको नियमितता हुनुपर्ने मान्यता आइसकेको छ । मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैली गजलमा हुनुपर्दछ ।

७) शेरः- गजलका प्रत्येक दुर्इ हरफलाई शेर भनिन्छ ।

८) बहरः- गजलको छन्द वा लयलाई बहर भनिन्छ ।

यसरी माथि उल्लिखित गजलका केही पक्षकाबारेमा संक्षिप्त चर्चा गरिए पनि उत्कृष्ट गजल नियोजनकालागि यति नै तत्वहरु पर्याप्त चाहिं छैनन् । यसमा मुख्यतः भाषाशैली, लयविधान, भावगत तीव्रता आदि आफ्नै ठाउँमा महत्वपुर्ण छन् । गजल एक छन्द विशेषमा रचना गरिने शास्त्रीय मान्यता भएकाले यसमा छन्द वा बहर पनि महत्वपुर्ण मानिन्छ । गजलका शास्त्रिय छन्द फारसी तथा उर्दुमा ५० वटा मानिए पनि १९ वटा मात्र प्रयोगमा आएको (परिश्रमी, २०५१:२७) भनिए पनि खास गरी उर्दु गजलमा ३७ वटा बहर हुने तर १२ वटा मात्रै प्रयोगमा आएको दावी गजलकारहरुको छ । यस्तै उर्दु र फारसीमा गजल संग्रहलाई 'दीवान' र बहरबद्ध गजलसंग्रहलाई 'बयाज' भनिन्छ । उर्दु पिङ्गलशास्त्र अनुसार गणलाई 'रुकुन' भन्ने गरिएको पाइन्छ तथा बहरहरु 'अरकान' बाट बन्दछन् (परिश्रमी, २०५०:८७) । अरकान भनेको गण व्यवस्था हो । तथापि कतैकतै एउटा गणलाई 'रुकुन' र अक्षरको मात्रालाई वजन' भन्ने गरेको पनि पाइन्छ । आजका आधुनिक नेपाली गजलमा शेर सङ्ख्या विजोड भएको राम्रो हुने मान्यता पाइन्छ ।

बुलबुलअनलाईन डट कमका लागि : शम्भु सापकोटा: लखनपुर झापा, हालः काभ्रे